

वडा कार्यालय सार्ने प्रस्ताव पारित

ओखलढुंगा – जिल्लास्थित खिजीदेम्बा गाउँपालिकाको वडा ४ को कार्यालय सार्ने प्रस्ताव १३औँ गाउँसभाले पारित गरेको छ । फागुन २० गते खिजीफलाटेमा भएको गाउँसभाले वडा कार्यालय सार्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
सभामा वडा ४ का अध्यक्ष होमबहादुरले सञ्जाबारीमा हुनुपर्ने प्रस्ताव पेश गरेका थिए । हाल वडा कार्यालय डिकर्पुस्थित कुण्डली माध्यमिक विद्यालय नजिक रहेको छ । उक्त प्रस्ताव सभामा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले निर्णयका लागि पेश गर्दा बहुमत सदस्यले सञ्जाबारीमा हुनुपर्ने भनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रानामगरले जानकारी दिए ।
निर्वाचन हुनु अगावै वडा कार्यालयको विषयमा पनि विवाद सिर्जना भएको थियो । सबैलाई पायक पर्ने स्थान सञ्जाबारी नै भएकाले आपूmले सो स्थानमा वडा कार्यालयको प्रस्ताव राखेको वडाध्यक्ष सुनुवारले दाबी गरे । सबैका लागि पायक पर्ने स्थानमा वडा कार्यालय सार्ने प्रस्ताव अघि बढाइएको भन्दै वडा अध्यक्ष सुनुवाले भने— सञ्जाबारी वडा ४ सेन्टर भएकाले वडा कार्यालय निर्माणका लागि पहल गरिएको हो । यसमा वडा ४ बासी सबै जनता एकजुट हुनुपर्छ ।’
१२औँ गाउँसभामा नै यो प्रस्ताव अघि बढाउन खोजिए पनि त्यसबेला कार्यपालिकामा सहमति नजुट्दा प्रस्ताव स्थगित गरिएको थियो । वडा कार्यालय पायक पर्ने स्थानमा राखिनुपर्ने मागसहित वडाका बहुमत जनप्रतिनिधिको निर्णयसहित पालिकामा निवेदनसमेत दिइएको थियो । हाल यो विषय अदालतसम्म पुगेको छ । मुद्दाको अन्तिम किनारा लगाउने जिम्मा गाउँ सभालाई दिइएकाले निर्णयार्थ सभाको कार्यसूचिमा समावेश गरिएको जनाइएको छ ।
वडा कार्यालय निर्माणका लागि २०७९ भदौ १३ गते बोलपत्र आह्वान भएपनि स्थान विवादका कारण काम सुरु हुन सकेको छैन । विवाद निरुपणसँगै तत्काल वडा कार्यालय निर्माणको काम अघि बढ्ने वडाध्यक्ष सुनुवारले जानकारी दिए ।