देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको  बताएका छन् ।

विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाए।

लामो सङ्र्षबाट स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वाभाविक हक भएको बताउँदै देउवाले पार्टीले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दवाव दिई जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढङ्गले अघि बढ्ने जनाए ।

पार्टीले कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेका परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त समाज, खेतीका बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौँ किलोमिटर पैदल हिँडेर गाउँ फर्किएका श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढङ्गले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीलगायतका पीडा र भावनालाई अब प्रखर ढङ्गले मुखरित र नेतृत्व गर्ने जनाएको छ ।

मुलुकका ७७ वटै जिल्लामा सोमबार पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि पनि उनले सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *