

असई हत्यामा संलग्न जवानलाई जन्मकैद

सप्तरी । सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो ।
खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको अाराेपमा उनलाई जन्मकैदको सजाय सुनाएको हो ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो ।
खत्रीलाई जन्मकैदसहित ३ लाख क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।
नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव २० असोजमा भेटिएको थियो ।