

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भावी गृहमन्त्रीका विषयमा छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका हुन् ।
नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
नागरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन भएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहेका छन् ।
सोही क्रममा मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा छैनन् ।