सशस्त्रको सुरक्षा तथा व्यवस्थापन तालिममा इन्स्पेक्टर बानियाँ सर्वप्रथम
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र प्रकाश गौतमले एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरे ।
सशस्त्र एआईजी गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमल बानियाँलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई बधाई दिए ।
उनले सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रणको लागि संगठनले सीमा सुरक्षालाई अझ सुदृढ र सीमा अनुगमनलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजनाकासाथ अघि बढेको चर्चा गर्दै सीमा सम्बन्धी विषयमा संगठनले मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुको समेत विशेष चासो रहने बताए ।
तालिमले व्यक्तिको ज्ञान, सीप र धारणालाई परिवर्तन गर्नुका साथै कार्यक्षेत्रमा परिचालन हुँदा विगतमा भन्दा फरकपन ल्याउँने विश्वास व्यक्त गर्दै उनले सीमामा खटिने सशस्त्र प्रहरी अधिकृतहरुलाई सीमा सुरक्षामा त्रुटिरहित ढंगबाट परिचालन हुन निर्देशन दिए ।
६ हप्ता अवधिको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सीमा सुरक्षा, सीमा अपराध, ऐन नियम, मानवअधिकार, नेतृत्व तथा व्यवस्थापन, सूचना संकलन, नक्सा अध्ययन र भन्सार सुरक्षा लगायतका विविध विषयमा प्रशिक्षण गराईएको थियो ।
कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।