

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौं । मंगलबारबाट शहीद सप्ताह सुरु भएकाे छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएकाे छ ।
१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । साेही दिनकाे सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएकाे हाे । साथै शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएकाे थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ।
तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।