सशस्त्र स्थापना दिवसः विपद् व्यवस्थापन शिक्षालय सर्वोत्कृष्ट, यी हुन् सशस्त्रका सर्वोत्कृष्टहरू
काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट युनिटहरूलाई पुरस्कृत गरेको छ । सोमबार सशस्त्रको मुख्यालय हल चोकमा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले उत्कृष्ट युटिन प्रमुखहरूलाई पुरस्कृत गरेका हुन् ।
विपद् व्यवस्थापन शिक्षालय, कुरिनटार यस वर्ष तालिम शिक्षालय तर्फ सर्वोत्कृष्ट भएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक (एसएसपी) अन्जनी कुमार पोखरेललाई आईजीपी अर्यालले ‘एपीएफ आईजी कमेण्डेशन’ र कदर पत्र प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले आफ्नो कार्यकालमा गोताखोर तालिम र केबुलकार दुर्घटना उद्धार अभ्यास सञ्चालन गरेका थिए । माघ १ मा पोखराको सेतीको खोँचमा यती एयरलाइन्स प्रा.लिको ९-एन एएनसी एटिआर-७२ विमान दुर्घटना हुँदा कुरिनटारबाट परिचालित गोताखोरले खोज तथा उद्धार गरेका थिए ।
प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा विपद् व्यवस्थापन तालिम शिक्षालयले उत्कृष्ट खोज तथा उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । १२ वटा तालिम शिक्षालय मध्येबाट चितवनको कुरिनटारमा अवस्थित सो शिक्षालय उत्कृष्ट भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गत वर्ष पनि सो शिक्षालय प्रथम भएको थियो ।
तालिम शिक्षालय कुरिनटारले अहिलेसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई आधारभूत विपद् व्यवस्थापन तालिम गराएको छ । पछिल्लो एक वर्षमा मात्रै ७ सय ६५ जनालाई आधारभूत तथा उन्नत विपद् व्यवस्थापन प्रदान गरेको छ । २०७९ मा शिक्षालयले पहिलो पटक गोताखोर तालिम सञ्चालन गरेर २० जना गोताखोर उत्पादन गरेको छ ।
नम्बर-५ बिन्ध्याबासिनी बाहिनी यस वर्षको सर्वोत्कृष्ट बाहिनी भएको छ । रुपन्देही स्थित नम्बर-५ बाहिनीका प्रमुख डिआईजी विदुर खड्कालाई आईजीपी अर्यालले ‘एपीएफ आईजी कमेण्डेशन’ र कदर पत्र प्रदान गरे ।
गणहरू मध्येबाट २१ नम्बर गण दक्षिणकाली, गुल्महरू मध्येबाट गुल्म-१८ दोलखा र बोर्डर आउटपोष्ट मध्येबाट कप्तानगञ्ज बिओपी सुनसरी उत्कृष्ट भएका छन् ।