

समयमा जहाज उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्ः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् ।
सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । उनले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए । ‘कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न’, उनले भने ।
‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्’, उनले भने ।
मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए ।
‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’, उनले भने, ‘नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधै साथ दिन्छु ।’