अझै भेटिएनन् २० दिन अघि भीरबाट खसेका सशस्त्र प्रहरी जवान महत



लमजुङ । गत १५ पुसका दिन मस्र्याङ्दीमा खसेर बेपत्ता भएका सशस्त्र प्रहरीका जवान अनन्त महतको अवस्था अज्ञात नै छ ।

ड्युटीका लागि मनाङ जाँदै गरेका जवान महत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, काप्रेभीर नजिक पिसाब गर्ने क्रममा मर्स्याङ्दीमा खसेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बेपत्ता महतको खोजी गरे पनि हालसम्म नभेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ताले जनाए । उनका अनुसार अहिले पनि सशस्त्र प्रहरीले मर्याङ्दी नदीमा खोजीका साथै निगरानी गरिरहेको छ ।

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका थिए ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार पुस १५ गते शुक्रबार बिहान १० बजेतिर घटना घटेको थियो ।