

मेयर चौधरीको सत्कर्मः ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउँदै लहान नगरपालिका

गोलबजार । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ।
सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबिच त्रिपक्षीय सम्झौता भएको हो। घर बनाउन नगरपालिकाले नगरसभाबाट एक करोड विनियोजन गरेको नगर प्रमुख महेश चौधरीले बताए।
सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी ह्याबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर दुई लाख रुपैयाँ संस्थाले दिने भएको छ। काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ।
प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठा घर र शौचालय निर्माण गरिने ह्याबिटयाटका परियोजना व्यवस्थापक रामबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरको ढाँचा नगरपालिका, भवानी एकीकृत र सो संस्थाका प्राविधिकले बनाउने, घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने श्रेष्ठले बताए। घर बनाउन स्थानीय सामग्री प्रयोग र गाउँकै मजदुरलाई रोजगारी प्रदान गरिने बताइएको छ।