

उद्योग वाणिज्य महासंघ भावी नेतृत्वमा ढकाल विजयी, गोल्छा बने नवअध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावि नेतृत्वका लागि चन्द्र ढकाल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्ने भएका हुन् ।
महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ढकालले ६३३ मत पाए भने निकतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाए ।
महासंघ अध्यक्षमा निवर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।
महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।
महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।
कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।
महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।