जर्नेलले किन रोजे होलान् आत्महत्या ?  



काठमाडौं । सेना भनेपछि जुनसुकै देशको होस, दृढ आत्मबल, कठोर हृदय र नैतिकवान हुन्छन् भन्ने बुझिन्छ । त्यसमाथि पनि सेनाको उपल्लो दर्जामा रहेका रथी वृन्दहरुको व्यक्तित्व झन फौज र समाजका लागि उदाहरणीय बन्नु पर्छ भन्ने मान्यता रहेको हुन्छ ।

सेनाका अधिकृत हुन् वा रथी वृन्द उल्लेखित मान्यता र सोच रहेको अवस्थामा नेपाली सेनाका एकजना रथी(अ.प्रा.)ले भने समाज र फौजको सबै मान्यतालाई तिलाञ्जलि दिंदै आत्महत्याको बाटो रोजेर परिवार, इष्टमित्रलाई रुवाएर जीवन त्यागेका छन् भने नेपाली सेनाको सकल दर्जालाई  आश्चर्य र चिन्तामा पारेका छन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर–९ सिरडी टोलमा स्थायी बसोवास गर्ने नेपाली सेनाका रथी वलदेव राज महत(अ.प्रा.)ले अकल्पनीय रुपमा आत्महत्याको बाटो रोजेर जीवन त्यागेका हुन् । २०७९ मंसिर २४ गते विहान ६ बजेको आसपासमा निजी निवासको आफ्नै बेड रुममा पासो लगाएर आत्महत्या गरेको थाहा भएको छ ।

रथी महत निकट मित्रहरुका अनुसार, उनी २०७९ मंसिर २३ गते शुक्रबार घरपरिवार र साथी भाइसंगै सामान्य अवस्थामै चावहिलस्थित स्मार्ट क्याफे एण्ड वैंक्वेटमा आयोजित शुभ कार्यको रात्रिभोजमा सरिक भएका थिए ।

मंसिर २३ गते रातिको विश्वकप  फुटबल म्याच समेत हेरेका र सामान्य अवस्थामा रहेका जर्नेल महत एक्कासी यस्तो अकल्पनीय निर्णयमा के कारणले, किन पुगे होलान् भन्ने जिज्ञासा परिवार र साथीभाइहरुले प्रकट गरिरहेका छन् । ४/५ जना साथीहरुसँग नियमित रुपमा मर्निङवाकमा जाने गरेका जर्नेल महत आत्महत्या गर्ने विहान पनि नाइट ड्रेस चेन्ज गरेर मर्निङवाकको ड्रेसमा रहेको बताइन्छ ।

विहान अवेरसम्म बेड रुमको ढोका नखुलेपछि चिया लिएर गएका परिवारका सदस्यले ढोका ढक्ढक्याएका थिए । लामो समयसम्म कोठा भित्रबाट कुनै जवाफ नआएपछि ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

मंसिर २४ गते शनिवार नै शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि सोही दिन राति आर्यघाटमा जर्नेल महतको दाहसंस्कार गरिएको थियो । उनीसँग नियमित भेटघाट र मर्निङवाकमा साथै रहने साथीहरुका अनुसार, देखिने गरि कुनै पनि समस्यामा नरहेका जर्नेल महतको १/२  दिनदेखि भने ‘मूड अफ’ थियो । नेपाली सेनाका रथी वृन्दहरु जोकोहीको प्राकृतिक निधनमा सेनाबाट अन्तिम सलामी पाउने गर्दछन् ।

रथी दर्जाको निधनमा त सेनाको ३१ जनाको एक प्लाटुन र पीएसओज् एकजना जर्नेलको उपस्थितिमा  सेनाले अन्तिम सलामी दिने र सेनाले नै अन्तिम संस्कारमा लाग्ने खर्च र पण्डित समेत उपलब्ध गराउने प्रचलन रहेको छ । तर, दुर्भाग्य आत्महत्या गर्ने रथी वृन्दलाई भने यस्तो सुविधा उपलब्ध नरहेको बताइन्छ । ६२ वर्षीय दिवंगत रथी वलदेव राज महतकी श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।

साँघु साप्ताहिक