

हुप्सेकोटकी प्रमुख लक्ष्मी पाण्डे बनिन् गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।
स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुंगो लगाए नसकेको कांग्रेस निकट स्रोतले बताएको छ ।
त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।
सदस्यहरुमा दीलकुमारी लावती (इलाम), सुमन मिरिंपचन (मोरङ), उग्रनारायण यादव (सिरहा), रामकुमार आचार्य (धादिङ), सरस्वती चिदी (पाल्पा), सहनशीला ओली (सल्यान) र दुर्गादत्त ओझा (डोटी) रहने भएका छन् ।
कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको छ गाउँपालिका महासंघ स्रोतले जनाएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।