सेनानी किशोर खड्काको नेतृत्वमा २०३ जना नेपाली शान्ति सैनिक सिरियातर्फ



काठमाडौं । नेपाली सेनाले पश्चिम एशियाली मुलुक सिरियामा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ), सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर से.मु. छैटौं डफ्फा र लेबल १ (+) अस्पताल तेस्रो डफ्फाको बदली भएको हो।

यी डफ्फालालाई बदली गर्नका लागि फोर्स फोर्स हेडक्वार्टर सपोर्ट युनिट एघारौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म छैटौं डफ्फा, इन्जिनियर से.मु. सातौं डफ्फा र लेबल १ (+) अस्पताल चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरू सेनानी किशोर खड्काको नेतृत्वमा काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका हुन्।

साथै उक्त मिशनमा तैनाथ प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको २१६ जना नेपाली शान्ति सैनिकको टोली सोमबार नै स्वदेश फर्किने पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा शान्ति मिशनहरूमा खटिएर विश्व शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।