

डा. तोसिमाबारे अन्तिम निर्णय दिँदै सर्वोच्च
ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । ललितपुर—३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहनेबारे परेको रिटमा आज सुनुवाई हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै सर्वोच्च अदालतबाट आदेशसमेत आउनेछ । निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ डा. कार्की ललितपुर—३ मा मनोनयन दर्ता गराएकी थिइन् ।
दाबी विरोधका क्रममा कुनै निर्णय नगरेको निर्वाचन आयोगले पछि उनी लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो ।
निर्वाचन आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्च अदालत गएकी थिइन् । न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
त्यो आदेश त्रुटिपूर्ण भएको र त्यही दिन सर्वोच्च अदालतको अर्को इजलासबाट भएको आदेशसँग बाझिएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय काम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो ।
सोमबार सर्वोच्च अदालतले दिने आदेश नै डा. कार्कीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेमा निर्णायक हुने देखिन्छ ।
यदि सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेशलाई निरन्तरता दिइ उम्मेदवारी कायम रहने आदेश गरेमा उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछिन् ।
अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । र, उनी प्रतिस्पर्धाबाट बाहिरिनेछिन् ।