‘आदिवासी चलचित्र महोत्सव’ पुस ९ देखि



काठमाडौं । यस वर्षको ‘आदिवासी चलचित्र महोत्सव’ विराटनगरमा आयोजना गरिने भएको छ । ९ र १० पुसमा आयोजना हुने चलचित्र महोत्सवमा विभिन्न जाति तथा भाषाका चलचित्रहरु प्रर्दशन गरिनेछ । महोत्सव प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा हुनेछ । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको फिल्महरु प्रदर्शन गरिने बताइएको छ ।

राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सवमा प्रदर्शन हुने फिल्महरुमध्येबाट उत्कृष्ट फिल्मलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिने छ । चलचित्रको मूल्यांकनका लागि विभिन्न भाषा–भाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति गठन गरिने राजवंशी चलचित्रकर्मी समाद समितिले जनाएको छ ।

आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिएका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने महोत्सवको समापन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गर्ने आयोजकले जानकारी दिएको छ ।