एनआरएनए अध्यक्षमा उम्मेवारी दिने कूल आचार्यको घोषणा



लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को केन्द्रीय अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने भएका छन् । वर्तमान सल्लाहकार आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । सङ्घको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए । “विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण)ले नेपालको अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, सङ्घले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु”, उनले भने ।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ । “एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने । पर्वतको धाइरिङमा जन्मिएका आचार्य गएको दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्छन् । उनी एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छन् ।

“सन् २००३ मा अग्रजले सङ्घ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि सङ्घले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो”, आचार्यले भने ।