जसपाको आधिकारिकता विवादमा आयोगको इजलास बस्दै, आजै टुङ्गो लाग्ने



काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (आइतबार) सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ । पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो ।

अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभाजित जसपाको आधिकारिता कसले पाउने भन्ने विवाद छ । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको पाँच सदस्यीय इजलास गठन गरेको छ ।

‘पाँच जना आयुक्तहरु आज इजलास बस्नु हुन्छ । दुवै पक्षलाई बोलाइएको छ । उहाँँहरुले कानुन व्यवसायीहरुले बहस नोट पेस गर्नुपर्ने हुन्छ । इजलासबाट उहाँहरुको कतिपय सक्कल कागतजात पेश भएको छैन । दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ’, आयोगका सचिव सुरेश अधिकारीले भने ।

आयोगले यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरु राजी नभएपछि इजलासबाट निरुपण प्रक्रिया अघि बढाएको हो । आयोगले छिट्टै नै विवाद निरुपणको तयारी गरेको छ । आजै बहस शुरुवात भएमा एक पक्षलाई तीन घण्टाको समय दिने आयोगको तयारी छ। पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता दाबी गरेको थियो । उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ ।

दुई अध्यक्ष ठाकुर र यादव पक्षबीचको विवादले जसपा विभाजन भइसकेको छ । तर जसपा नाम र यसको चुनाव चिन्ह् कुन पक्षले पाउने भन्ने विषयमा आयोगको इजलासले निर्णय गर्ने भएको हो ।यसबीच ठाकुर पक्षका केही सांसद यादव पक्षले राखेको संसदीय दलको बैठकमा सहभागी भएका छन् । योसँगै शनिबारबाट यादव पक्षमा सांसदको संख्या २० पुगेको छ ।

ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपा फुटेको हो । जसपाको ठाकुर पक्ष यसअघि ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो भने अहिलेको देउवा सरकारमा यादव पक्ष सहभागी हुँदैछ ।