आफ्नै मनसँग गन्थनः ‘आमा सीताले छोरी रेणु र गंगाको मुस्कानमा हाँसो थप्न सकुन्’

आइतबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्धित दुई तस्बिरहरु भाइरल बने । एउटा थियो, प्रचण्ड पुत्रीहरुले बिरामी आमा अर्थात् दाहाल पत्नी सीताको तस्बिर सार्वजनिक गर्नु, अनि अर्को थियो सोही दिन प्र्रचण्डसहित रेणु र गंगाले चितवनका बोटे समूदायमा गएर खाना खानु ।

यी दुई तस्बिरबारे कुनै विश्लेषण गर्ने विषय त पक्कै पनि होइन, तर पनि एक सामान्य फेसबुके दर्शकका लागि भने अलि अचम्म नै लाग्यो । एकातिर अचेत अवस्थामा रहेकी आमाको तस्बिर सार्वजनिक गर्दै आमाको स्याहारसुसारका लागि दुवै छोरीहरु लागि रहे जस्ता देखिनु अथवा क्यामेरा ठम्याउन नसकेकी अचेत आमालाई साक्षी राख्दै मुस्कुराउन सक्नु, अर्कोतिर तिनै आमालाई राजधानीमा छाडेर बाबुसँग बोटे परिवारको आतिथ्यतामा सहभागी हुनु ।

हुन त राजनीतिक परिवारमा यी सबै बाध्यता वा सामान्य पनि लाग्नसक्छन्, बिरामीसँग सबै परिवार सधैं सँगै बस्नुपर्छ भन्ने पनि छैन, यी तीनजना बाहेक अरु आफन्तले सीताको स्याहारमा कुनै कसुर बाँकी राखेका छैनन् पक्कै पनि । तर, पनि अहिले दाहाल पत्नी सीताको पछिल्लो तस्वीर हेर्दा सीतालाई प्रचण्ड, छोरी रेणु र गंगामध्ये एक जना हरहमेसा सँगै रहनुपर्ने जस्तो देखिन्छ । तर, बाध्यता दाहाल परिवारको राजनीतिक एवं सामाजिक जीवनमा पनि व्यस्त रहनु नै हो ।

देशका लागि भन्दै दर्जनौं वर्ष घरबाहिर बिताएका उनीहरुका लागि एक दिन घरबाहिर जानु अन्यथा पक्कै पनि होइन, तर रेणु, गंगाले सार्वजनिक गरेका तस्बिरका सीताका आँखाले उनीहरुलाई टाढा जानका लागि अनुमति दिएकै छैनन् । हुन त यी कुरा भावनामा बग्ने कुरा पनि हुनसक्छन् ।

देशको राजनीतिमा केन्द्रमा रहीरहने प्रचण्डका लागि चितवनको बोटे समूदायको पनि सीताकै जत्ति योगदान छ अवश्य पनि । सीता प्रचण्डको अभिभावक बनेर बसिरहेकी छिन् भने प्रचण्ड बोटे परिवारको । आखिर दुवैले अभिभावकत्वको महत्व बुझेका नै छन् ।

हुनतः लामो द्वन्द्वको बेलामा आप्mना पति एवं प्रचण्डका लागि हत्केलामा ज्यान राखेर सधैं सँगै क्रान्तिमा हिँडेकी सीताका लागि अहिलेको अवस्थामा एकछिन टाढिनु कुनै दुःखको कुरा त होइन, तर पनि मेडिकल साइन्सले तङ्ग्र्याउन नसकेकी सीताका बारेमा हामी जस्तो ‘बाहिरी मान्छेहरु’ले सोच्दा भने एक जनाले नछाडिदिएको भए हुने थियो भन्ने लाग्दो रहेछ ।

प्रचण्ड चितवन गएर बोटे बालिकालाई काखमा लिँदै गरेका तस्बिर सीताले ठम्याउन सक्ने भए, सीताले भन्थिन् होला, ‘तिमी महान् छौ बुढा ! हरेक जनताका छोराछोरी यसैगरी कख्याउनु ।’ र, मेरो विश्वास अनि भगवानसँग कामना छ, सीता छिटै यी तस्बिर ठम्याउनसक्ने गरी, उठ्न सकुन्, छोरी रेणु र गंगाको मुस्कानमा हाँसो थप्न सकुन्, अनि पछिल्लो समय राजनीतिक अप्ठ्यारोमा परेका पति प्रचण्डको राजनीतिक क्रान्तिमा हातेमालो गर्दै साथ दिन सकुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *