सत्ता समीकरणका लागि आज तीन दलको बैठक बस्दै



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन आज तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ ।

तर, सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिबेला कुनै पक्षसँग खुलेको छैन । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए ।