काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न छलफल गर्दै माओवादी केन्द्र



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव ल्याएर हटाउने निर्णय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेसँग नयाँ सत्ता समीकरणको गृहकार्य अघि बढेको छ । कांग्रेसको निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको प्रतिक्रिया दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सत्ता समीकरणको वातावरण तयार गर्न सक्रिय देखिएका छन् ।

कांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र जसपाका नेताहरुसँग छलफल अगाडि बढाएका छन् । उनले हिजो पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग टेलिफोनमा कुराकानी गरेका थिए । यस्तै माओवादी केन्द्रले आज नयाँ सत्ता समीकरणबारे जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग आज छलफल गर्ने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताउँदै आएको छ । यस्तै माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थालाई लिएर आज स्थायी कमिटी बैठक बोलाएको छ ।

एमाले र माओवादीको एकता भङ्ग भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई कांग्रेस नेतृत्वको सरकारको पहल थाल्न पटक–पटक आग्रह गर्दै आएका छन् । तर कांग्रेस सभापति देउवाले सरकारमा जाने वातावरण बनिनसकेको र अहिले नै हतार गर्न नहुने बताउँदै आएका थिए ।

तर, पार्टीभित्रकै दवावका कारण पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अडान परिवर्तन गर्दै ओली सरकार विस्थापनको पक्षमा निर्णय गरेका छन् । उनले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् ।