अफगानिस्तान भ्रमणमा अमेरिकी रक्षा सचिव लोयड



काठमाडौं – अमेरिकी रक्षा सचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा गएका छन् । राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने बताएका छन् ।

भेटमा अमेरिकी सेना स्वदेश फिर्ता बोलाउने सरकारको यसअघिको निर्णय पालनाको समय सीमाबारे भने केही नबताएको समाचारमा जनाइएको छ । द्वन्द्व समाधानका लागि हुने वार्ताअघि नै अफगानिस्तानमा जारी हिंसात्मक गतिविधिको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।

हिंसाको अन्त्यको अन्तिम उपाय शान्तिवार्ता भएको जिकिर गर्दै उनले तालीनानी बिद्रोहीसँग वार्ताको क्रम जारी राख्न राष्ट्रपति घानीलाई सुझाव दिएका छन् । गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा द्वन्द्वरत विद्रोहीहरुले वार्ताका लागि तयार रहेको बताए पनि सरकारले प्रतिवद्धता अनुसार आफ्ना बन्दीहरु रिहा नगरेको तालिवानीहरुले आरोप लगाउँदै आएका छन् ।

अफगानिस्तानमा अझै दुई हजार पाँच सय अमेरिकी सेना कार्यरत रहेका छन् । लोयड अफगानिस्तानको भ्रमण गर्ने बाइडेन प्रशासनका हालसम्मका सबैभन्दा उच्च अधिकारी हुन् । बीबीसी