

राष्ट्रपति भण्डारी सहितको टोली बंगलादेश प्रस्थान, महत्वपूर्ण छलफल

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।
भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ ।
उक्त कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।