विप्लव समूह र सरकारबीच सहमति, प्रधानमन्त्री ओली र विप्लवले भोली सम्बाेधन गर्दै (सहमति पत्रसहित)



काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तेस्रो चरणको वार्ता पछि तीन बुँदे सहमती भएको छ । सहमतिमा सरकारका तर्फबाट रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार वार्ताका माध्यमबाट राजनीतिक विषयको समाधान सम्वादका माध्यमबाट गर्ने, राजनीतित्र कियाकलाप शान्तिपूर्ण सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्धको फुकुवाका साथै बन्दीको रिहाई र मुद्दा खारेजी गर्ने विषयमा सहमती भएको जनाइएको छ ।

सहमतिपत्रअनुसार भोली (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित विप्लवका महासचिव नेत्रविक्रम चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

सहमतिको विस्तृत विवरण भने आउन बाँकी नै रहेको जनाइएको छ ।

बुधबार वार्ताको पहिलो दिन बिहान र बेलुकी गरी दुई चरणमा सम्पन्न भएको वार्तापछि बिहीबार बिहान तेस्रो चरणको वार्ता सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई रहेका छन् भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ता टोली छ ।