हुण्डी कारोबारीसँग संलग्नसहित ३ प्रहरी निलम्बित



जनकपुर । नेपाल प्रहरीमा भ्रष्टाचार र आपराधिक कृयाकलाप एकाएक बढेर गएको छ । प्रहरी अधिकारीहरु नै लागूऔषध र घुस प्रकरणमा पक्राउ परेको घटना सेलाउन नपाउँदै २ नम्बर प्रदेशमा पनि तीन जना प्रहरी निलम्वित भएका छन् ।

दुई नम्बर प्रदेश प्रहरीले इप्रका पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत असई ललित साह र प्रहरी जवान दिनेश हजारा निलम्वित भएका हुन् ।

उनीहरुले वित्तीय अपराध (हुण्डी)मा संलग्न व्यक्तिलाई आर्थिक प्रलोभनमा परी सहयोग पुर्याएको प्रमाणित भएको हुँदा कारबाही स्वरुप निलम्वन गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले बताए ।

त्यस्तै इप्रका देवाही गौनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत असई सञ्जयकुमार झालाई पनि आचरण विपरित काम गरेको अभियोगमा निलम्बन गरिएको डिआईजी सिंहले बताए ।

यसअघि ललितपुरका एक प्रहरी निरीक्षक पनि लागू औषध कारोबारमा संलग्न भएको आरोपमा निलम्बनमा परेका थिए ।