

काभ्रेमा गोली चल्दा ५ घाइते

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा बोधिचित्त माला लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट हुँदा गोली चलेको छ ।
प्रहरीका अनुसार बोधिचित्त लुटपाट गर्न खोज्दा भएको गोली प्रहारमा ५ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र वीरबहादुर लामाको बोधिचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । घटनास्थलमा २ गोलीका खोका भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले घटनापछि थप प्रहरी पठाएको बताए ।
प्रहरी स्रोतका अनुसार प्रभात दोङ्ग,समिप त्रिपाठी ,सिजन तमाङ्ग लगायत समुहको लगानी रहेको मालाको रुख कुर्न बसेको समूहलाई अर्को समूहले राति आक्रमण गरेको थियो ।
लुटेरा समुहले बोधिचित्त माला लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् । उक्त माला एक करोडमा सम्झौता भएर ८५ लाख बैना गरिएको थियो।
बिगतमा मालाको कारोबार गर्दै आएका सत्यमान लामा समुहमाथि प्रहरीको आशंका छ। उनी नेकपा नेतृ एवं सांसद नविना लामा निकट छन्।
माला धनीमध्यका प्रभात दोङ्गसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक प्रविण पोखरेलको निकट सम्बन्ध रहेको छ। उनको मालामा लगानी रहेको स्रोतको भनाइ छ ।
प्रहरीका अनुसार आक्रमणकारी समूहले कटुवा पेस्तोलबाट २ राउण्ड गोली चलाएका थिए।