राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा आरधाना गरी सुनको जलहरी अनावरण



काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगलाई सुनको जलहरीले ढाकिएको छ । आज बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगलाई सुनको जलहरीले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताएका छन् ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधवार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागु औषध बर्जित गरेको पनि बताए ।