बाँसबारी जग्गा प्रकरणः विनोद चाैधरीको पनि बयान लिँदै सीआईबी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिएको गृह स्रोतले बतायो । त्यसका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिने भएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको अभियोगमा व्यवसायी अरूण चौधरी पक्राउ परेका थिए। उनलाई दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले आदेश दिएको थियो। सोही प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग पनि बयान लिन लागेको गृहमन्त्रालय स्रोतले बतायो ।

गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । साेही निर्देशन बमोजिम सांसद विनोदको पनि सीआईबीले वयान लिने स्रोतले बतायो ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो ।

हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । यो प्रकरणमा सीआईबीले तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडहरुको शेयर सदस्यहरु माथि पनि अनुसन्धान गर्नुपर्ने भनेको छ । बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।