प्रेमकुमार राईको अख्तियार प्रवेशसँगै जोशीले दिए राजीनामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले पदभार सम्हालेपछि आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

आफू मातहत काम गरिसकेका राईलाई ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख बनाएर पठाएपछि जोशीले राजीनामा दिएका हुन् ।

जोशी आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका राई नै प्रमुख आयुक्तमा नियुक्त भएर आएपछि अख्तियारमा उथलपुथल भएको छ । संवैधानिक आयोगमा रिक्त पदपूर्ति गर्ने भन्दै राईलाई प्रमुख बनाइएपछि जोशीको राजीनामासँगै फेरि अख्तियारको आयुक्त पद रिक्त भएको छ ।

जोशीले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए । जोशीको राजीनाले अख्तियारमा १ आयुक्त पद रिक्त भएको छ ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउने थिए । तर राई प्रमुख भएर आएपछि उनले अगाडि नै राजीनामा दिएका छन् ।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारमा सचिव भएका थिए । त्यतिबेला जोशी अख्तियारमा आयुक्त रहेका थिए ।

बुधवार बिहान नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तमा सिफारिस भएका जयबहादुर चन्द र कुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै राई, चन्द र सिलवालले टंगालस्थित अख्तियारको कार्यालय पुगेर पदभार समेत सम्हालेका छन् । राईले पदभार सम्हालेको समयमा कार्यबाहक आयुक्त जोशी उपस्थित नभई राजीनामा बुझाउन राष्ट्रपति कार्यालय गएका थिए ।