सशस्त्र आईजी अर्यालको सांसदहरूसँग गुनासो, ‘२०३ रूपैयाँले चारपटक खानुपर्छ, बाेल्दै हिँड्ने कुरा पनि भएन’



काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् ।

जानकारी गराउने क्रममा अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताए । अर्यालले भनेअनुसार एकजना प्रहरीको लागि रासन २ सय ३ रुपैयाँ रहेछ ।

मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँ अपुग हुने अर्यालको भनाइ थियो । जुन कुरालाई सांसदहरूले पनि चासोका साथ लिएका थिए ।

‘रासनसम्बन्धि समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने ! उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ,’ उनले भने ।

‘२०३ रुपैयाँले दैनिक २ छाक खाना र २ पटक खाजा खानुपर्छ । हामीले समूहमा पकाएर खाँदाखेरि कहिले काँचो हुन्छ, कहिले दाल पुग्दैन, कहिले तरकारीका कुरा पनि आउँछन्,’ उनले भने, ‘हामीले बोल्दै हिँड्ने कुरा पनि भएन, आज यति ठूलो फोरममा त्यहाँसम्मको कुरा पनि राख्न पाइयो ।’

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति रहेको थियो ।