को हुन् त आलोक शर्मा, जसले प्रचण्ड पत्नी दाहालको मुम्बईमा उपचार गर्दैछन् ?



काठमाडौं । आलोक शर्मा । विश्वविख्यात भारतीय न्यूरोसर्जन । नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचार गर्नको लागि मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्टिच्यिूटका निर्देशक ।

विगत लामोसमयदेखि विभिन्न रोगबाट ग्रसित रहेकी प्रचण्ड पत्नी दाहाललाई उपचारका लागि सोमबार बिहान मुम्बईस्थित सोही अस्पतालमा लगिएको छ ।

विशेष गरेर दाहालको उपचारका लागि बरिष्ठ न्युरोसर्जन एवं अस्पतालका निर्देशक डा. आलोक शर्मा सहभागी हुने जनाइएको छ ।

भारत जानुअघि दाहाललाई राजधानीको मेडिसिटि अस्पतालमा २ दिनको उपचारपछि घरमै आराम गर्न लगाइएको थियो । त्यसअघि अमेरिका, सिंगापुरलगायतका देशमा उपचार गराइसकिएको दाहालको स्वास्थ्यस्थिति पछिल्लो समयमा बिग्रँदै गएपछि थप उपचारका लागि मुम्बई लगिएको हो ।

उनको उपचारका लागि पूर्वप्रधानमन्त्री प्रचण्डसँगै छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि मुम्बई गएका छन् ।

को हुन् त डा. शर्मा ?

डा. शर्मा उक्त अस्पतालका निर्देशकका साथै विश्वविख्यात न्यूरोसर्जन हुन् । उनले मुम्बई विश्वविद्यालयबाट एमबीबीएस, एमएस र एमचीएच गरेका छन् । उनले नशा ट्रान्स्प्लान्टेशनका दुईवटा विभाग सम्हालिसकेका छन् ।

उनले विश्वमै पहिलोपटक सन् १९९५ मा स्वीडेनमा नशा ट्रान्सप्लान्टेशनसम्बन्धी काम गरेका थिए । अमेरिकाको कोलोराडो विश्वविद्यालयमा पनि स्वास्थ्य विज्ञान सेन्टरमा काम गरेका शर्मा पार्किन्सन रोगको मुख्य विशेषज्ञता हासिल गरेका छन् ।

त्यस्तै उनी भारत सरकारका साथै विभिन्न स्वास्थ्यसँग सम्बन्धित विश्वभरका कयौं संस्थाहरुबाट सम्मानित पनि भईसकेका छन् ।