अझै भेटिएनन् बिमलः यी हुन् २ दिनदेखि सम्पर्कबिहीन भएका मेजर पण्डित…



डोल्पा — डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अवस्था अझै अज्ञात छ।

आइतबार साँझदेखि बेपत्ता भएका पण्डितको बारेमा अहिलेसम्म कुनै क्लु भेटिएको छैन।

सम्पर्कबिहीन भएको २ दिन पुगिसक्दा पनि उनको अवस्था अज्ञात नै रहेकोमा जिल्लाका सुरक्षा निकायले अनुमानित सबै स्थानका साथै जिल्ला बाहिरका सम्भावित क्षेत्रमा पनि खोजी कार्य गरिरहेको जनाइएको छ ।

मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट पुगेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

पण्डित त्रिपुराकोट पुगिसकेपछि एक पसलमा फोन पेमार्फत् पैसा ट्रान्सफर गरिदिएर त्यसपछि नगद लिएर हिँडेको एक स्थानीयले जनाएका छन् । उनले नगद लिएर हिँडेका कारण जिल्ला बाहिर निस्किएको अनुमान गर्दै त्यतातिर पनि निगरानी बढाइएको जनाइएको छ ।

त्रिपुरा, लिपु, खोदाङलगायत क्षेत्रमा उनको खोजी भइरहेको छ। उनको खोजीमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन्। मेजर पण्डितको स्थायी घर काठमाडौं हो।