उपत्यकामा चिसो बढ्यो, तराइमा हुस्सु र कुहिरो



काठमाडौं । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । यसअघि गत शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यता सफा रहने छ ।

आजै राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।