आर्मीका कप्तान हरिहजुरको खोसियो राष्ट्रिय कप्तानी

सातौं प्रधानमन्त्री कप भलिबलमा दर्शकमाथि सेनाका खेलाडीबाट भएको कुटपिट राेक्न नसकेको आरोप, आर्मीका धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध



काठमाडौं – नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तानबाट हरिहजुर थापालाई बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भलिबल संघले बताएको छ । सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए ।

घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।

त्यस्तै दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ ।

विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।