नयाँ जनादेशमा जानुको विकल्प छैनः मन्त्री रायमाझी



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् ।

ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भने ।

“यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गराैं”, प्रचण्ड–नेपाल समूहतर्फ इङ्गित गर्दै उनले भने, “अन्तरविरोधको हलतिर लागौँ । हामी तपाईँहरुलाई अझै साथ दिन तयार छाैं । यदि हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प  छैन ।”

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रमभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खोजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए ।

उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।”

नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भने ।

अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा, मधुसूदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे ।