नृत्य निर्देशक संघको सल्लाहकारमा जोगेन्द्र नियुक्त



काठमाडौं । नृत्य निर्देशक संघको सल्लाहकारमा जोगेन्द्र केसी नियुक्त भएका छन् । ४१ औँ अन्तराष्ट्रिय नृत्य दिवसको अवसर पारेर नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच केसीलाई सल्लाहकार नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

दुई दशक लामो समय देखि नृत्य निर्देशनमा सक्रिय केसीलाई कार्यक्रमको प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उक्त प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।

गत चैत्रमा बसेको कार्यसमिति बैठकको निर्णय अनुरुप केसीलाई सल्लाहकार नियुक्ति गरिएको संघका अध्यक्ष भुवनदास श्रेष्ठले जनाएका छन् । उनले केसी नृत्य क्षेत्रको बिज्ञ भएका कारण सल्लाहकारमा नियुक्त गरिएको समेत जनाए ।

कार्यक्रममा बोल्दै संघका नवनियुक्त सल्लाहाकार केसीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताए । यस क्षेत्रको बिकाश, सम्वद्र्धन तथा प्रवद्र्धनको लागि आफ्नो सक्रियता तथा आवद्धता हरेक तवरले हुने उनले प्रतिवद्धता जनाएका छन् । साथै उनले आफुले सधै यस संस्थामा आवद्ध निर्देशकको उज्ज्वल भबिस्य तथा स्थायित्वको लागि उचित सल्लाह सुझाव दिने जिकिर गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री ठकुरीले राष्ट्रिय नृत्य दिवसको थालनी गर्न आफूले पहल गर्ने बताउँदै कला क्षेत्रमा दशकौं योगदान दिने कलाकर्मीहरूको भविष्यको सुनिश्चिता हुनुपर्नेमा जोड दिइन् ।

स्वागत नृत्यस्वरुप नृत्य निर्देशक संघ, ललितपुरका ललित बज्राचार्यले पञ्चकपाल नृत्य प्रस्तुत गरेको कार्यक्रममा अन्य विविध सांस्कृतिक कार्यक्रम र झाँकीहरू प्रस्तुत गरिएको थिए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्रज्ञा परिषद् सदस्यहरू तथा सभा सदस्यहरू, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, नारायणदेवी प्रधान, राधेश्याम प्रधान, याम गुरुङ, जोगेन्द्र केसी, उदिराम खड्कालगायत नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, उपाध्याक्ष शम्भु शाही, महासचिव निरिप केसी, सचिवऋषिकेश श्रेष्ठ, सहसचिव रवि राणा, कोषाध्यक्षशारदा शर्मा, साहकोषाध्यक्षकेशव कोइराला, सदास्य कृष्ण रसाल, देवेन्द्र कुँवरलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले गरेका थिए ।

२०१६ मा स्थापना भएको नृत्य निर्देशक संघको हाल देशभरीमा २१ वटा शाखा छन् ।