निर्वाचनको लागि कांग्रेस सधैं तयार छ, डराउँदैनः कांग्रेस सचेतक भुषाल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाईन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बुधकार आयोजित साक्षात्कारमा बोल्दै भुषालले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् ।

उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ ।

उनले भनिन्,‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । यदि व्यक्तिले चलाउने हो भने किन संविधान चाहियो ? मुलुकले प्रणालीअनुसार अघि बढेन भने प्राप्त उपलब्धि धरायशी हुन्छ । यो सरकारले संसद विघटन गर्यो, यो गलत काम हो । प्रधानमन्त्रीको विशेषाधिकारको कुरा गरियो, तर संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होईन । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन ।’

संसद र कानूनले स्विकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाई छ । संसद विघटन सिफारिश संविधानको कुनै धाराले नचिन्नेपनि उनले दोहोर्याईन् । तर, नेकपा सरकारले संसद विघटनको कदम उठाएर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको उनको भनाई  । उनले आफूहरुले संसदीय व्यवस्थालाई स्थिर बनाउन चाहेको उल्लेख गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानतः नमिल्ने बताईन् ।

अब नेपाली कांग्रेसले के गर्छ ? भन्नेबारे पत्रकार धमलाले सोधेको प्रश्नमा उनले यसबारेमा वैचारिक बहस सुरु भएको जनाईन् । उनले भनिन्,‘निर्वाचनको वातावरण तय गर्नुपर्छ । हामी निर्वाचनको लागि सधैं तयार छौं । तर, हामी अदालतको निर्णय कुरेर बसेका छौं । २०७२ को संविधान जारी भएपछि भएको चुनावको बेलामा पनि हामीले एउटा पार्टीलाई स्पष्ट बहुमतको जनादेश दिनुपर्छ भनेका थियौं । मुलुकको विकास र समृद्धिको लागि अनि स्थायित्वका लागि पनि संविधानसभा जितेको तर कांग्रेस हारेको थियो । संविधान कार्यान्वयनको पक्षमा हामी छौं । राजनीतिक अस्थिरताको मूल्य जनताले चुकाउनुपर्छ ।’

उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन् । उनले भनिन्,‘जबसम्म सरकार बन्नसक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन् । अदालतको निर्णय पर्खनुपर्नेछ । संसद पूर्नस्थापना गर्ने सम्भावना छ । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । सिस्टमले मुलुकलाई चलाउँछ ।’

उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी  र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् ।