रोटरीको १५औं डिस्ट्रिक्ट कन्फ्रेन्स काठमाडौंमा सम्पन्न, अभूतपूर्व रुपमा सफल भएको गभर्नरको भनाई



काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको १५ औ डिस्ट्रिक्ट कन्फ्रेन्स काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ । चैत्र ३ र ४ गते शुक्रबार र शनिबार गरि सम्मेलन सम्पन्न भएको हो ।

रोटरीमा प्रत्येक रोटा वर्षमा हुने महाभेलाका रुपमा यसलाई लिने गरिन्छ । दुई दिनसम्म चलेको रोटरीको यो महाभेलामा  ११ सय भन्दा बढि रोटरी सदस्यहरुको उपस्थिति रहको थियो । सम्मेलनमा विश्व लगायत नेपालमा रोटरीले संचालन गरेका परियोजना र तिनको प्रभावबारे विस्तृत छलफल तथा जानकारी प्रदान गरिएको थियो । सम्मेलनमा देश तथा विदेशका विभिन्न क्षेत्रमा पोख्त वक्ताहरुको उपस्थिति रहको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रोटरी इन्टरनेशनल डाइरेक्टर ए एस भेनकटेस रहेका थिए भने मुख्य वक्ताका रुपमा नेपालका लागि अमेरिकी राजदुत रहेका थिए । रोटरी इन्टरनेशनल प्रेसिडेन्टको प्रतिनिधीका रुपमा भारतवाट रोट्रयाक्टर नितिशा पेडनेकर आएकी थिईन् । बिगतका रोटा वर्षमा तीन दिनसम्म हुने गरेको सम्मेलन अहिले भने दुई दिनमा सम्पन्न भएको हो । रोटरीले निर्धारण गरेका सातै क्षेत्रमा सघन रुपमा सम्मेलनमा प्यानलगत रुपमा छलफल भएको थियो ।

No description available.

रोटरीको इतिहास, वर्तमान र भविष्यको मार्गचित्रबारे रोटरीसँग आवद्व वक्ताहरुले दृष्टिकोण राखेको थिए भने अन्य वक्ताहरुले समुदायको आर्थिक रुपान्तरणका लागि रोटरीले निर्धारण गरेका प्राथमिकताका सातै क्षेत्रमा राज्य, नागरिक समाज, गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायसँग साझेदारीका विषयमा धारणा राखेका थिए ।

रोटरीको रुप र सार दुवै पक्षमा बिहिंगम रुपमा भएको छलफल रोटरीको संस्थागत मर्म, स्वरुप, संचालन विधि  परियोजनाको दीगोपना, सदस्यता विस्तार तथा रोटरीप्रति आकर्षणलाई जीवन्त बनाईराख्ने चुनौति, महिला सहभागितामा वृद्वि एवं नेतृत्व हस्तान्तरणको प्रश्न, वातावरण संरक्षणमा देखिएका पछिल्ला चुनौति, सडक दूर्घटना न्यूनिकरण,सवारी एवं सडक सभ्यता, रोटरीमा युवा आकर्षण लगायतका बिबिध विषयको उठान सम्मेलनमा गरिएको थियो ।

नेपालमा रोटरीले संचालन गरेका परियोजना, त्यसले समुदायको विकासमा देखाएको गुणात्मक परिवर्तन र आगामी मार्गचित्रबारे सम्मेलनले मार्गनिर्देश गरेको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले बताए ।

No description available.

सम्मेलनमा रोटरीले निर्धारण गरेका प्राथमिकताका सबै क्षेत्र वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शुद्व पिउने पानी तथा सरसफाई, शान्ति तथा द्वन्द्व व्यवस्थापन, सदस्यता मामिला, महिला सशक्तिकरण एवं महिला नेतृत्वको विकास लगायतका विभिन्न क्षेत्रमा रोटरी तथा रोटरीभन्दा बाहिरका सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचारमार्फत दिशानिर्देश गरेका थिए ।

रोटरीको मर्म, योजना र रोटरीले संचालन गरेका परियोजनाका प्रकृति, प्रभाव र परिणामबारे एकै थलोबाट सम्पूर्ण जानकारी लिने अवसर प्राप्त गर्नु सम्मेलनको ऐतिहासिक सफलता भएको गभर्नर राजभण्डारीको भनाई छ । यसका अतिरिक्त यसपटक विभिन्न विधामा अवार्डहरु समेत डिस्ट्रिक्ट कन्फ्रेन्समै प्रदान गरिएको थियो । नेपाली रु दश लाख राशीको गोपाल कमला राजभण्डारी भोकेश्नल एक्सिलेन्स अवार्ड रोटरी कलव अफ रुद्रमति काठमाडौंका पूर्व अध्यक्षसमेत रहेका युवा उद्यमी सुदिप कोइरालालाई प्रदान गरियो । उनले दिदी फाउण्डेशनमार्फत पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि काम गर्दैै आएका छन् ।

त्यसैगरि जानकीदास कान्छीमाया अवार्ड नेपालमा स्वास्थ्यको अब्बल परियोजना गर्न सफल रोटरी क्लव अफ बुटवल डाउनटाउनलाई  बेस्ट रोटरी क्लवका रुपमा प्रदान गरियो जसको राशी नेपाली रु ५ लाख रहेको थियो । अरुण श्रेष्ठ अवार्ड बेस्ट रोट्रयाक्ट क्लवका रुपमा रोट्रयाक्ट क्लव अफ काठमाडौं मिडटाउनलाई प्रदान गरियो जसको राशी नेपाली रु दुई लाख पचास हजार रहेको छ ।

No description available.

त्यसैगरी रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला रोटरियन डा सुनिति आर्चायद्वारा यो रोटा वर्षवाट स्थापित डा गोपाल सुनिति प्रोफेशनल विमेन अवार्ड तेजकुमारी लुँइटेल र राधा पौडेललाई प्रदान गरियो । आफ्नो योग्यता, क्षमता र सिर्जनात्मकतामार्फत समुदायको विकासमा विशिष्ट योग्दान पुरयाउने एक रोटरीमा आवद्व महिला र एक रोटरीभन्दा बाहिरकी महिलालाई सो अवार्ड प्रदान गरिएको हो जसको राशी नेपाली रु एक लाखका दरले रहेको थियो ।

सम्मेलनमा रोटरीमा वर्षौ बिताएका रोटरियन देखि भर्खर रोटरीमा आवद्व भएका नयाँ रोटरियन हुँदै रोट्रयाक्टबाट रोटरीमा आवद्व भएका रोटरियनका अनुभव एवं राष्ट्रिय जीवनका विविध क्षेत्रमा ख्याती प्राप्त गर्न सफल व्यक्तिहरुले आफ्नो संघर्ष र सफलताबारे कार्यक्रममा आफ्ना अनुभव राखेका थिए ।

सम्मेलनमा दुई दिनसम्म सहभागी हुँदै गर्दा रोटरी सदस्यहरुमा नयाँ उर्जाको संचार भएको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बताए । गभर्नर राजभण्डारीले सम्मेलनलाई अभूतपूर्व रुपमा सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सवैप्रति हार्दिक आभार प्रकट गर्दै सहभागी आम रोटरियनहरुलाई सम्मेलनपछि  फर्केर नयाँ शिरावाट रोटरीको यात्रालाई अझ बढि रचनात्मक रुपमा अगाडि बढाउन अपिल समेत गरेका थिए ।