राहदानी प्रकरणमा रविलाई मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर 



काठमाडौ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरेको हो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको बताए ।

‘उहाँले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेट्न सकिएन’, न्यौपानेले भने । जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ । अन्य उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ । महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ ।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो । काठमाडौं जिल्ला सरकारी वकिल प्रमुख न्यौपानेले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिएपनि त्यसको दुरुपयोग भएको नदेखिएको बताए ।

‘रविजीले पुरानै नेपाली नागरिकता प्रयोग गरेर पुरानै नम्बरको नेपाली पासपोर्ट निकालेको अवस्था छ’, न्यौपानेले भने, ‘त्यसरी लिएको पासपोर्टको उहाँले प्रयोग गरेको रेकर्ड अध्यागमन विभागको रेकर्डबाट देखिँदैन ।’