

कुमारीपाटीको थ्रीडी आर्ट रेष्टुरेन्ट शुक्रबारदेखि पुनः खुल्दै

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका बन्द रहेको नेपालकै पहिलो थ्री डी आर्ट रेष्टुरेन्ट शुक्रबार (मंसिर ५ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ ।
विश्वमा फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि देखिएको सन्त्रासबीच सरकारले चैत ११ देखि लकडाउनको घोषणा गरेपछि चैत ९ गतेदेखि रेष्टुरेन्ट बन्द गरिएको थियो । त्यसपछि साउन ५ गतेदेखि पछि केही दिनका लागि आशिंक खुला गरिएको रेष्टुरेन्टमा उपत्यकालगायतका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेसँगै सामाजिक उत्तरदायीत्वको भावनाले केही पछि बन्द गरिएको थियो ।
त्यसपछि पछिल्ला दिनमा संक्रमितको संख्या तुलनात्मक रुपमा केही कमी हुँदै गएपछि रेष्टुरेन्टमा ग्राहकहरुको स्वास्थ्यलाई पूर्ण ध्यानमा राख्दै पुनः सञ्चालनमा ल्याउन लागिएको रेष्टुरेन्ट व्यवस्थापन पक्षले बताएको छ ।
रेष्टुरेन्ट सञ्चालनपूर्व रेष्टुरेन्ट परिसरका साथै रेष्टुरेन्टका हरेक सामाग्रीहरुलाई पूर्ण रुपमा डिस्इन्फेक्सन गरिएको पनि जनाइएको छ ।
थ्रीडीआर्टलाई खानामा मिश्रण गर्ने उद्देश्यले नेपालको रेष्टुरेन्ट क्षेत्रमा पहिलोपटक राजधानीको ललितपुरको कुमारीपाटीमा सञ्चालित वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट स्थापनाको छोटो समयमा नै राजधानीका खाना पारखीहरुमा लोकप्रिय बनेको थियो ।