देशभर भएको दुर्घटनामा ५ जनाको मृत्यु



काठमाडौं । पाँचथरस्थित हिलिहाङ गाउँपालिका-१ मालबासेस्थित सडकमा लु४ त २३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा मुढेशनिश्चरे बस्ने २४ वर्षीय थल बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पाल्पाको निस्दी गाउँपालिका-७ मोटेखर्कस्थित सडकमा ना८ ख ७९०५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक साँगाचोक गडी नगरपालिका-१३ बस्ने ४० वर्षीय पूर्ण बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका-२ झगडपुरस्थित सडकमा से१ त ४३९९ नम्बरको ट्याक्टर ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा  ट्याक्टरका सह-चालक सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय दिपक मौनीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बर्दगोरीया अस्पताल प्रालि बौनिया हुँदै थप उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित  सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-१ बस्ने मनोज नेपालीको ३  वर्षीय छोरा समिर नेपालीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत हुँदै थप उपचारका लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल सहित हाल फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै लमजुङको दोर्दी गाउँपालिका-४ सिर्केभिरस्थित सडकमा ग१ ज ७१२७ नम्बरको बलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा जिपमा सवार दोर्दी गाउँपालिका-५ पाचोक बस्ने ७० वर्षीया सुनि गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको जिल्ला सामुदायिक अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।