

अविरल वर्षासँगै आएकाे बाढीपछि यस्तो देखियो क्षतिग्रस्त भक्तपुर

भक्तपुर । अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो ।
ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
वर्षाका कारण चाँगुनारायण नगरपालिका-४ मनाेहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको छ । चांगुनाररायण नगरपालिका- १ दुवाकोट बेसी मनाेहरा खोला किनारका २० वटा घरटहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
मध्यपुर ठिमी नगरपालिका- २ मनाेहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँंच सयवटा हाँस, दुई सयवटा बंगुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ मनाेहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरामा पानी पसेको छ । मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी मनाेहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीले जनाएको छ ।