मनकारी मध्यविन्दुबासीः जब बाढीमा रोकिएकालाई राजमार्गमै खाना पकाउन थालियो…
नवलपुर – मंगलबार साँझदेखि देशका अधिकांश स्थानहरुमा भारी वर्षा भयो । भारी वर्षाका कारण देशका मुख्य मुख्य राजमार्गदेखि सहायक राजमार्गहरु अवरुद्ध बन्न पुगे । हजारौं यात्रुहरु बोकेर हिँडेका सवारीसाधनहरु बिच बाटोमै रोकिए । गन्तव्यमा हिँडेका हजारौं यात्रुहरु अलपत्र बने । हजारौं यात्रुको बाटो खर्च सकियो, भोको पेट लिएर बाटो खुल्ने प्रतिक्षा गर्दै बस्न बाध्य भए ।
यही विपतको परिवेशमा पूर्वी नवलपुर मध्यविन्दुका स्थानीयहरु भने अलपत्र यात्रुहरुको पीडामा मल्हम अथवा भोकमा खाना बोकेर खटिएका छन् ।
भारी वर्षाका कारण नारायणगढ–दुम्किबास विभिन्न स्थानमा सडक अवरुद्ध बनेको थियो । यसै शिलशिलामा मध्यपुर नगरपालिका वडा नं. १० का स्थानीयहरुले दुम्किबास–अरुणखोलामा बाटो बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खानाको व्यवस्था गरेर मानवीयताको उदाहरण प्रस्तुत गरेका छन् ।
प्राकृतिक विपत्तिलाई मौका ठान्दै यात्रुहरुलाई महंगो दरमा खानेकुरा बिक्री गर्ने चलन रहे पनि मध्यविन्दु १० का स्थानीयहरु भने विपतमा परेकाहरुका लागि राजमार्गमै खाना पकाएर बाँडिरहेका थिए ।
सडक अवरुद्ध भएको स्थानमा स्थानीयहरुले यात्रुहरुका लागि निःशुल्क रुपमा खाना उपलब्ध गराएका थिए ।
बाढीका कारण सडक अवरुद्ध भएपछि राजमार्गमै गरिएको यस किसिमको सेवा ज्यादै उदाहरणीय भएको बताउँदै डडेलधुराबाट काठमाडौं हिँडेका एक यात्रुले ‘आफ्नो लागि भगवान् नै आएको’ बताए । उनले भने, ‘बसभाडाबाट जम्मा १ हजार बोकेर राजधानी हिँडेको थिएँ, कसरी पुग्ने भन्ने थियो, धन्य नवलपुरबासी मेरोलागि भगवान् नै बनेर आउनुभयो ।’ जिन्दगीको सबैभन्दा खुशीको दिन नै भएको बताउँदै नवलपुरबासीले ज्यादै राम्रो काम गरेको बताए ।
उक्त कार्यमा नेपाल रेडक्रस सोसाइटी आरुङ्गखोला शाखा, नवप्रतिभा र सहयोगी मन भएका स्थानीय ब्यापारीले सहयोग गरेको जनाइएको छ । उक्त अवसरमा दिउँसो चिया र बिस्कुट वितरण गरिएको थियो भने त्यसपछि पुरी तरकारीको व्यवस्था गरिएको थियो ।
तस्वीरहरूः सामाजिक सञ्जाल