

लागूऔषध अवैध उत्पादन र ओसारपसार नियन्त्रणका लागि हातेमालो गराैंः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोग नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आव्हान गरेका छन् ।
गृह मन्त्रालयले आइतबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आव्हान गरेका हुन् ।
सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उनले बताए ।
‘लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्छ,’ गृहमन्त्री खाणले भने ।
कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताए । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उनले प्रशंषा समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।