

कीर्तिपुरमा लागूऔषधको बहानामा दिउँसै सडकमा कुटपिट गरी हत्या

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । उनीहरू तीनै जना लागूऔषध प्रयोगकर्ता भएको र खत्रीको साथमा लागूऔषध रहेकोले नापित र महर्जनले खत्रीलाई कुटपिट गरेको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।