

महानगरप्रमुख बालेनको नयाँ सोच, रेष्टुरेन्टमा सार्वजनिक शौचालय प्रयोग गर्नेबारे कार्यपालिकामा छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बसेको छ । नवनिर्वाचित पदाधिकारीले शपथग्रहणपछि गरेको पदबहालीपछि बसेको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ ।
बैठकमा पहिलो प्रस्तावको रुपमा परिचयात्मक कार्यक्रम राखिएको थियो । त्यसपछि दोस्रो बुँदामा नवनिर्वाचित जनप्रतिनिधिहरुले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।
त्यस्तै तेस्रो नम्बरमा नगरप्रमुख बालेन्द्र शाहले प्रतिबद्ध गरेअनुरुपको फोहोर व्यवस्थापनलाई राखेका थिए । त्यसका लागि सम्पूर्ण जनप्रतिनिधिहरु समेत फोहोर व्यवस्थापनका लागि रचनात्मक कार्य गर्नका लागि नगरप्रमुख शाहले अनुरोध गरेका थिए । उनले काठमाडौंको फोहोरको व्यवस्थापनमात्र नभई बञ्चरेडाँडा र सिसडोलबासीको स्वास्थ्यप्रति पनि आफूहरु सचेत हुनुपर्ने बताए ।
त्यस्तै चौथो बुँदामा नगरप्रमुख शाहले राजधानीमा सञ्चालित रेष्टुरेन्ट तथा होटलका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सकिने अवधारणा सार्वजनिक गरेका थिए । उक्त कार्यका लागि मेयर शाहले केही रेष्टुरेन्टसँग कुराकानी गरिसकेको र सकारात्मक जवाफ पाएको पनि बताए ।
त्यस्तै महानगरपालिकामा कल सेन्टरको स्थापना गरि महानगरबासीहरुको समस्या सुन्ने व्यवस्था गर्ने पनि बताए । उक्त कल सेन्टरमा महानगरभित्रका बासीले आप्mनो क्षेत्रमा देखिएका समस्याहरुका बारेमा जानकारी गराउने र कलसेन्टरमा रहेका इन्जिनियरसहितको टिमले उक्त समस्यालाई समाधान गर्ने व्यवस्था गर्ने पनि बताए । यदि उक्त टिमले आफैं समाधान गर्न नसकेमा सम्बन्धित निकायमा जानकारी गराई उक्त समस्या समाधानका लागि पहल गर्ने काम गर्ने अवधारणा पनि सार्वजनिक गरियो ।