यस्तो छ सरकारद्वारा प्रस्तुत नयाँ मर्यादाक्रम, काठमाडाैंका मेयर नवौँमा मर्यादाक्रममा हुँदा अन्य कतिमा ?



काठमाडौं । सरकारले पूर्वराजालाई पनि मर्यादाक्रम तोकेर पूर्वराष्ट्रप्रमुखको हैसियत दिने भएको छ। सरकारले तयार गरेको नयाँ मर्यादाक्रम सूचीमा पूर्वराजालाई पूर्वराष्ट्रपतिसँगै राखिएको छ।

गृह मन्त्रालयले चैत ७ गते मर्यादाक्रम तय गरेको हो। गृहमन्त्री बालकृष्ण खाणले गत पुस २० मा मर्यादाक्रम तोक्न समिति गठन गरेका थिए। पाँच सदस्यीय समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल छन्। समितिले तयार पारेको प्रतिवेदनका आधारमा मर्यादाक्रम तयार पारेर मन्त्रालयमा बुझाइको छ। यसपल्टदेखि विद्यालयमा कार्यरत शिक्षक पनि मर्यादाक्रममा समेटिएका छन्।

पूर्वराजालाई मर्यादाक्रममा राखेर पूर्वराष्ट्रप्रमुखको हैसियत दिन लागिएको उच्च सरकारी अधिकारीले जानकारी दिए।  नयाँ मर्यादाक्रमको पहिलो सूचीमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्ष छन्।

छैटौँमा पूर्वराष्ट्रपति, पूर्वराजा, उप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र प्रदेश प्रमुख रहने व्यवस्था गरिएको छ।

मर्यादाक्रमको सातौँ नम्बरमा संघीय मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, विपक्षी दलका नेता, नेपाल रत्न मानपदवी पाउने महानुभावहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलको उपनेता, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्री छन्।

आठौँमा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका सत्ता पक्षका प्रमुख सचेतक, प्रतिनिधिसभा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधि र राष्ट्रियसभाका विभिन्न समितिका सभापति, संवैधानिक निकायका प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन्।

यस्तै सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद् सदस्य, महान्याधिवक्ता, राष्ट्रियसभामा सत्तापक्षका नेता, प्रमुख सचेतक, प्रदेशसभाका सभामुख, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति पनि आठौँ नम्बरमा छन्।

नवौँमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधि र राष्ट्रिय सभाका सदस्य, नेपाल सरकार पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाको प्रमुख, प्रदेशसभाका विभिन्न समितिका सभापति, संविधानसभाका सदस्य र पूर्वसांसद छन्।

दसाैँ मर्यादामा प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सचेतक, संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार छन्।

राष्ट्र बैँकको गभर्नर, प्रज्ञाप्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति, नेपाल सरकारका सचिव, एवं राजपत्रअंकित विशिष्ट श्रेणीका अधिकृत, काठमाडौँबाहेक अन्य महानगरपालिकाका प्रमुख पनि दसौँमा छन्।

एघारौँमा राष्ट्र गौरव मानपदवी पाउने महानुभावहरू, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्क महासचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालय रेक्टर, रजिस्टार, डिन, प्राध्यापक, उपमहानगरपालिका प्रमुख, काठमाडौँ महानगरका उपप्रमुख, उच्च अदालतका न्यायाधीश पनि मर्यादाक्रमको एघरौँ नम्बरमा छन्।

बाह्रौँमा ऐनबमोजिम गठन भएका आयोगका अध्यक्ष, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगमा उपाध्यक्ष, प्रदेश लोकसेवा आयोगका सदस्य, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान अधिकृत रहेका छन्।

यसैगरी तेह्रौँ नम्बरमा ऐनबमोजिम गठन भएका आयोगका सदस्यहरू, नेपाल सरकारका सहसचिव एवम् राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका अतिरिक्त, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी, महानगरपालिकाका उपप्रमुख (काठमाडौँ महानगरपालिका) बाहेक छन्।

उपमहानगरपालिकाका प्रमुख, जिल्ला न्यायाधीश, नगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित द्वितीय श्रेणी), गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख र विश्वविद्यालयका सहप्राध्यापकको मर्यादाक्रम पनि तेह्रौँ नम्बरमा छ।

मर्यादाक्रमको चौधौँ नम्बरमा सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुलेट जनरल, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक छन्।

चौधौँ मर्यादाक्रम रहेका अन्यमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेका राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको तहमा कार्यरत अधिकृत र सार्वजनिक संस्थानका अध्यक्ष छन्।

मर्यादाक्रमको पन्ध्रौँ नम्बरमा नेपाल सरकार उपसचिव एवम् राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहका अधिकृत, सार्वजनिक संस्थानका कार्यकारी, प्रमुख सेनानली, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, गाउँपालिकाका उपाध्यक्ष, विश्वविद्यालयका उपप्राध्यापक छन्।

सोह्रौँ नम्बरमा सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेका राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहका तहमा कार्यरत अधिकृत छन्।

सत्रौँ नम्बरमा सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत एवम् राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका अधिकृत, विश्वविद्यालयका सहायक प्राध्यापक र माध्यमिक तहका शिक्षक रहेका छन्। मर्यादाक्रमको अठारौँ नम्बरमा उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत छन्।

मर्यादाक्रमको अन्तिम अर्थात् उन्नाइसौँ नम्बरमा प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेका राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको तहमा कार्यरत अधिृकत र सहायक सेनानी छन्।

नेपालमा मर्यादाक्रम पटकपटक परिवर्तन गरिँदै आएको छ। यसअघि सेनाको अधिकृत र प्रहरी अधिकृतको मर्यादामा विवाद भएपछि त्यसलाई सम्बोधन गरिएको थियो। नयाँ मर्यादाक्रममा मुख्य सचिव र प्रधानसेनापतिलाई सहायक मन्त्रीभन्दा माथि राखिएको छ।

नयाँ मर्यादाक्रममा सर्वोच्च अदालतका न्यायाधीशभन्दा माथि संवैधानिक निकायका प्रमुख छन्। संविधानको धारा १०१ को उपधारा २ मा सर्वोच्च अदालतको न्यायाधीशपछि संवैधानिक निकायको प्रमुख रहने व्यवस्था छ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार गृहले पठाएको मर्यादाक्रमको सूची मुख्य सचिवकहाँ पुगेको छ। अब मुख्य सचिवले  छलफल गरेर मन्त्रिपरिषद्‌मा पेस गर्नेछन्। मन्त्रिपरिषद्‌बाट पारित भएपछि मर्यादाक्रम राजपत्रमा प्रकाशित हुनेछ।