बौंदीकाली प्रमुख-उपप्रमुखसहित चार वटा वडामा एमाले विजयी, औपचारिक घोषणा हुन बाँकी
वडा नं. ४ र ६ मा कांग्रेस प्यानल विजयी
बौंदीकाली । नवलपुरको बौंदीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मतगणनाको अन्तिम समयमा रहेको अवस्थामा एमालेका गाउँपालिका प्रमुख उम्मेदवार प्रकाश ओझा ४२१ मतले अगाडि रहेका छन् । त्यस्तै उपप्रमुखमा डिलकुमारी सारु ४५९ मतले अगाडि रहेकी छिन् ।
अहिले वडा नं. १ मिथुकरमको मत गणना भइरहेकोछ । अब मिथुकरमको २४५ मत गन्न बाँकी रहेको अवस्थामा ओझाले ३८७१ मतका साथ नेपाली कांग्रेस उम्मेदवार केबी रानाले ल्याएको ३४५० मत भन्दा ४२१ मतले अगाडि रहेका छन् ।
त्यस्तै उपाध्यक्षकी उम्मेदवा सारुले ३८६८ मत ल्याएकी छिन् भने उनकी प्रतिद्वन्द्वी धनकान्ति घिमिरेले ३४०९ मत ल्याएकी छिन् । यसरी हेर्दा गणना गर्न बाँकी २४५ मत नै नेपाली कांग्रेसका उम्मेदवारले ल्याए पनि एमाले उम्मेदवारद्वय ओझा र सारु विजयी हुने निश्चित भएको हो । तर, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
त्यस्तै वडा नं. १ को वडाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार अनिल थापाले ५०० मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टोलनाथ कँडेलले ३६१ मत ल्याएका छन् ।
पछिल्लो आंकलनअनुसार वडा नं. १ मा पनि नेकपा एमालेका उम्मेदवार विजय हुने निश्चित प्रायः देखिएको छ ।