

प्रधानसेनापति शर्माको प्रमुख आतिथ्यमा भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु

काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा बुधबारबाट दिपायलथित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य र नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सम्मेलन सुरु गरिएको हो ।
सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका थिए ।
हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताएका थिए ।