

इन्जिनियरहरूलाई लाग्यो चुनाव, फागुन २७ मा निर्वाचन
डा. दर्लामी नेतृत्वको समूहलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन(नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी नेतृत्वको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) निर्वाचनमा होमिएको छ । यो समुहलाई कांग्रेसको समर्थन रहेको छ ।
इन्जिनियरहरूको छाता संगठन (नेइए)को ३३औँ केन्द्रीय कार्यकारिणी समिति, दोस्रो बागमती प्रदेश समिति र इन्जिनियरिङ परिषद् सदस्यहरूको निर्वाचन २७ फागुनमा हुँदैछ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक दर्लामी नेतृत्वको सिडेनको समूहमा उपाध्यक्षमा डा. नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारीको उम्मेदवारी छ ।
इन्जिनियरहरूको सम्मान, पेशागत सुरक्षा, ‘इन्जिनियरहरूको अलग्गै प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न एसोसियसनमा हाम्रो नेतृत्व जरुरी छ,’ अध्यक्षका उमेदवार दर्लामीले भने, ‘अहिलेको कार्यसमितिले इन्जिनियहरूका समस्या समाधानमा कति काम गर्यो ? जगजाहेर छ । नेइएमा सिडेनको नेतृत्व हुँदा भएका काम पनि सबैलाई थाहा छ । हामी इन्जिनियरहरूको पेशागत क्षमतासँगै नेइएको संस्थागत विकासका लागि प्रतिबद्ध छौं ।’
दर्लामी नेतृत्वको समितिको सदस्यहरूमा सुरज चापागाईं, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र बिद्या बराल छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोखे्रल पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिराम दुवाडी उम्मेदवार छन् ।
बागमतीमा पौडेल नेतृत्वमा टिम
सिडेनले बागमती प्रदेशको कार्यकारिणी समितिका लागि इन्जिनियर रोहिणी पौडेललाई सभापतिका रुपमा अघि सारेको छ ।
पौडेल नेतृत्वको समितिको उपाध्यक्षमा सुरेन्द्र कैनी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा. विजय थापा र कोषाध्यक्षमा विपिन भुषाल छन् । सदस्यहरूमा ओशन थापा मगर, प्रमोद महत, प्रल्हाद बस्नेत, रोहित पौडेल, चिरञ्जिवी खतिवडा, बृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रविण क्षेत्री छन् ।
बागमती प्रदेश नेइएको सबैभन्दा धेरै सदस्य भएको प्रदेश हो । बागमतीबाट केन्द्रीय सदस्यमा सुब्रत अर्याल उम्मेदवार छन् ।